कञ्चनुर,कार्तिक ०१। कञ्चनुरमा कार्यालयमै बेहोस अवस्थामा फेला परेका एक बिमा कम्पनीको म्यानेजरको मृत्यु भएको छ। 

रिलायन्स इन्स्योरेन्स महेन्द्रनगरका म्यानेजर गणेश साउँद शुक्रबार दिउँसो २ बजे कार्यकक्षमा ढलेको अवस्थामा भेटिएका थिए । कार्यालयका कर्मचारीले प्रहरीलाई खबर गरेपछि उनको उद्धार गरी उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको थियो ।

बैतडीको सुर्नया गाउँपालिका घर भएका ३५ वर्षीय साउँदको उपचारकै क्रममा शुक्रबार बेलुकी मृत्यु भएको हो ।

मुखबाट फिँज तथा वान्ता निस्किएर ढलेको अवस्थामा भेटिएको खबरपछि प्रहरीले उनको उद्धार गरेर उपचारका लागि धनगढी पठाएको थियो । उपचारका क्रममा शुक्रवार साँझ साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार साउँदको कार्यकक्षमा रहेको डस्टबिनमा सलफास नामक विषादी भेटिएको छ । डस्टविनमा सलफास भेटिएकाले साउँदले विषादी सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आकलन छ ।

अहिले उनको शवलाई पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ। पोष्टमार्टमको रिपोर्टको आधारमा घटनाको अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।