एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सको सामना गर्नेछ । दोस्रो खेलमा भने दिल्ली क्यापिट्ल्सले चेन्नई सुपर किंग्सको सामना गर्नेछ ।

नेपाली समय अनुसार दिउँसो पौने चार बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा बैंगलोरले राजस्थानको सामना गर्नेछ ।बैंगलोर खेल जित्दै अंक तालिकामा आफूलाई बलियो बनाउने दाउमा छ ।  

अंक तालिकाको तेस्रो स्थामा रहेको बैंगलोरले आठ खेलमा पाँच जित र तीन हारको नतिजा बनाएको छ। राजस्थान भने ८ खेलबाट ५ हार र तीन जितको नतिजासहित सातौं स्थानमा छ । 

ब्याटिङ र बलिङमा मध्यम गरिरहेको बैंगलोरका लागि कप्तान विराट कोहलीले २ अर्धशतकसहित ३०४ तथा समान ३–३ अर्धशतक प्रहार गरेका देवदत्त पडिक्कलले २६१ र एबी डिभिलियर्सले २३० रन बनाएका छन् । युजवेन्द्र चहलले ११, इसरु उडानले ७ र क्रिस मोरिसले ५ विकेट हात पारेका छन् । 

पछिल्ला खेलमा लय गुमाएको राजस्थानका लागि आजको खेल जित्दै आफ्नो अत्मविश्वास फर्काउने मौका हुनेछ । ब्याटिङमा केही सुस्त देखिएको राजस्थानका लागि सन्जु सामसनले २ अर्धशतकसहित २२७ रन बनाउनु नै सर्वाधिक रन हो । 

दिल्ली विरुद्धको खेलमा बेन स्टोक लयमा देखिनु राजस्थानका लागि राम्रो संकेत हुनसक्छ । स्टोकले यो खेलमा ४१ रनको पारी खेलेका थिए । राजस्थानको बलिङ जोफ्रा आर्चरमानै निर्भर देखिन्छ । उनले १२ विकेट हात पारेका छन् । 

हालसम्म यी दुई टोलीले २२ खेलमा प्रतिस्पर्धा गर्दा राजस्थानले १० र बैंगलोरले ९ खेल आफ्नो पक्षमा पारेका छन् भने ३ खेल बिना नतिजा टुङ्गिएका छन् । पछिल्ला ५ खेलमा पनि राजस्थान बलियो स्थितिमा देखिन्छ । 

राजस्थानले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल गुमाएको छ । यो सिजनको पहिले खेलमा भने बैंगलोर ८ विकेटले विजयी भएको थियो । 

दिल्ली र चेन्नईको खेल 
त्यस्तै नेपाली समय अनुसार राति पौने आठ बजे सारजाह क्रिकेट मैदानमा दिल्ली र चेन्नई आमनेसामने हुनेछन् ।

दिल्ली खेलमा जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिने प्रयासमा हुनेछ । दिल्ली ८ खेलबाट ६ जित र २ हारको सामना गर्दै लिगको दोस्रो स्थानमा छ । 

दिल्लीले ब्याटिङ र बलिङ दुबैमा सन्तुलित प्रदर्शन गरिरहेको छ । उसका लागि समान २–२ अर्धशतक प्रहार गरेका कप्तान श्रेयस अय्यरले २९८ र शिखर धवनले २२८ रन बनाएका छन् । कागिसो रबडाले १८ र एनरिच नोत्जेले १० विकेट हात पारेका छन् । ​

महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले आईपीएलको यो सिजनमा खराब सुरुवात गरेको छ । उसलाई प्लेअपको सम्भावना जीवितै राख्न आजको खेल जित्नै पर्ने दवाब छ । चेन्नई ८ खेलबाट ३ जित र ५ हारको नतिजा सहित अंक तालिकाको छैटौं स्थानमा छ । 

ब्याटिङ र बलिङ दुबैमा सुस्त देखिएको चेन्नईका लागि फाफ डु प्लेसिसले ३ अर्धशतकसहित ३०७ र सेन वाटसनले २ अर्धशतकसहित २४१ रन बनाएका छन् । साम करनले ९ र शार्दुल ठाकुरले ८ विकेट हात पारेका छन् । 

हालसम्म यी दुई टोलीले २२ खेलमा प्रतिस्पर्धा गर्दा चेन्नईले १५ र दिल्लीले ७ खेल आफ्नो पक्षमा पारेका छन् । पछिल्ला ५ खेलमा पनि चेन्नई बलियो स्थितिमा देखिन्छ । ​

चेन्नईले ४ खेल आफ्नो पक्षमा पार्दा १ खेलमात्र गुएको छ । यो सिजना भएको पहिले खेल भने दिल्लीले ४४ रनले आफ्नो पक्षमा पारेको थियो ।  

तपाइको प्रतिक्रिया दिनुहोस्।