साम्राज्ञीराज्यलक्ष्मी शाह अहिले प्रदीप खड्काको डेट कुरिरहेकी छिन्। प्रदीपको फिल्म ‘प्रेम गीत ३’ को सुटिङ निर्धारित मितिमा नसकिँदा साम्राज्ञीले उनीसँग जोडी बनेर गर्न लागेको हेमराज बिसीको फिल्म फ्लोरमा जान सकेको छैन। ‘मारुनी’ र ‘रातो टीका निधारमा’को बक्सअफिस आँकडा हेरेपछि कुनै पनि निर्माताले साम्राज्ञीलाई मोटो रकम दिएर साइन गर्न हिम्मत जुटाउन सकेका छैनन्।

फलतः उनको दैनिकी प्रेमी देवांश राणाको वरिपरि चक्कर लगाएर बितिरहेको छ। तर, चक्कर लगाएर मात्र कति बस्नु? हामीलाई त साम्राज्ञी खाली बसेको देख्दादेख्दा वाक्क लागिसक्यो भने उनी स्वयंलाई कति लाग्यो होला। अन्ततः उनले म्युजिक भिडियो खेल्ने निर्णय गरेकी छिन्। तर, रमाइलो कुरा के छ भने म्युजिक भिडियो खेल्दा उनले मोडल चाहिँ अरू हैन, देवांश  नै चुनेकी छिन्।

फेसबुकमा सार्वजनिक गरेको सुटिङको तस्बिरमा साम्राज्ञीले लेखेकी छिन्, ‘अफस्क्रिन कपल इन अनस्क्रिन।’ उनी फिल्ममा पनि व्यस्त हुने हो भने देवांशलाई फिल्ममा पनि डेब्यू गराए हुन्छ। जोडी खेल्ने भनेपछि निर्माता ओइरो लाग्छन्। नपत्याए, पूजा शर्मा–आकाश श्रेष्ठ र सौगात मल्ल–सृष्टि श्रेष्ठको व्यस्तता हेरे पुग्छ। 

तपाइको प्रतिक्रिया दिनुहोस्।