भद्रपुर : इलामको पशुपतिनगर नाकाबाट भन्सार छलेर भित्र्याइएको ठूलो परिणामको लत्ताकपडा र इलेक्ट्रोनिक्स सामान झापा ल्याउन लागेको अवस्थामा प्रहरीले छापा मारेर बरामद गरेको छ।  इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईको नेतृत्वमा खटिएका टोलीले शुक्रबार बेलुका ५ बजे ५० मिनेटमा इलामको सूर्योदय नगरपालिका ४ स्थित सुवास गुरुङको खाली घरमा छापा मारेर १७ पोका लत्ताकपडा र इलेक्ट्रोनिक्स सामान बरामद गरेको हो।  गुरुङको खाली घरमा भन्सार छलेर ल्याएको सामान भण्डारण गरी राखिएको अवस्थामा करिब १४ लाख ८९ हजार मूल्य बराबरको सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक राईले जानकारी दिए।

  बरामद गरिएका सामान १४०० पिस लेगिज, ८२४ मिटर सर्टको कपडा, १३८१ मिटर थान कपडा, ३८४ मिटर थानको सुट कपडा, तन्ना, ब्रा, सल रुमाल, होल्डर, बत्ती बोर्डलगायत रहेको छ। प्रहरीले बरामद गरेको सामानको पोकामा सिलगुढी–बिर्तामोड र कृष्ण नाम उल्लेख गरिएको छ। कारोबारीले सो सामान भारतको सिलुगढी बजारबाट खरिद गरी मिरिक हुँदै इलामको छब्बिसे नाकाबाट नेपाल भित्र्याएको प्रहरीले जनाएको छ। बरामद गरिएको सामानलाई पशुपतिनगर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक राईले बताए। 

यता व्यापारी स्रोतका अनुसार सूर्योदय नगरपालिकाको छब्बिसे नाका भारतसँग जोडिएको र त्यहाँका सशस्त्र प्रहरीको सेटिङमा कारोबारीले यसरी नै ठूलो परिणाममा भन्सार छलेर लत्ताकपडा लगायतका सरसामान भित्र्याउँदै आइरहेको छ।  इलामको पशुपतिनगर र छब्बिसेलगायत नाकाबाट भन्सार छलेर भित्र्याइएको सरसामान कारोबारीले झापाको बिर्तामोड र दमकका बजारसम्म ल्याउने गरेको स्रोतको दाबी छ। त्यस्तै दुई महिना अघि भद्रपुर भन्सार कार्यालयबाटै लत्ताकपडाको कारोबार हुँदै आइरहेको थियो। तर, दुई महिना यता भन्सारमा लत्ताकपडा आउनै छाडेको छ। कारोबारीले झापाको काँकडभिट्टा र पशुपतिनगर नाकाबाट भन्सार छलेर लत्ताकपडा भित्र्याउँदा भद्रपुर भन्सारको राजश्वमा समेत गिरावट आएको छ। 

कारोबारीले काँकडभिट्टाबाट भित्र्याएको लत्ताकपडाको एक पोका बराबर ५ हजारमै बिर्तामोड सम्म पुर्‍याउने गरेको कारोबारी स्वयं बताउँछन्। भन्सारमा राजश्व तिरेर लैजाँदा पोकाको १५ देखि ४० हजारसम्म पर्छ।     पारी भन्सार नहुँदा ठूलो परिणाममा सामान आउँदै  पशुपतिनगर भन्सार कार्यालय नाकाबाट ठूलो परिणामको सामान कारोबारी र व्यापारी भित्र्याउन सक्दैन।

भारततर्फ भन्सार नहुँदा ठूलो परिणाममा सामान आउन नगरेको भन्सार कार्यालयका प्रमुख गजेन्द्र भट्टराईले जानकारी दिए। ‘हामीले लक्ष्य अनुसार राजश्व सकंलन मात्र गर्दै आइरहेका छौं,’ उनले भने, ‘भारततर्फ भन्सार हुँदा जिएसटी अनुसार नै सामानको भन्सार कटाउन सकिन्छ।’ एकै पटक ठूलो परिणामको सरसामान भन्सार नाकाबाट भित्र्याउन नसक्दा कारोबारी र व्यापारीले ती सामान भन्सार छलेर नेपाल भित्र्याउने गरेको छ। त्यहाँबाट एकै पटक भित्र्याइएको सामान चोरी निकासीबाटै भित्र्याइन्छ। थाहा खबर बाट सभार

तपाइको प्रतिक्रिया दिनुहोस्।