बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने ) मेसिन निःशुल्क बितरण गरेको छ । बिर्तामोड नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रमअन्तरगत नगर क्षेत्रका ७० जना कृषकलाई उक्त मेसिन प्रदान गरेको हो।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, बिर्तामोड – ५ का वडाध्यक्ष राजेन्द्र लिङदेन, ९ की वडाध्यक्ष पवित्रा पाठक, ७ की कार्यबाहक वडाध्यक्ष चन्द्रकला पकुवाल, ८ का कार्यबाहक वडाध्यक्ष दीपक कार्की, सहारा नेपाल साकोसका कार्यक्रम संयोजक किसन गौतम, प्रशासकीय अधिकृत देवराज कार्की, कृषि शाखा प्रमुख राजेन्द्र कडरियालगायतले संयुक्तरुपमा च्यापकटर मेसिन कृषकलाई हस्तान्तरण गरेका थिए।

नगरपालिकाले गत भदौमा कृषकहरुबाट आवेदन आव्हान गरेको थियो । शुरुमा २० जना कृषकलाई मेसिन दिने भनिएकोमा ६८७ वटा आवेदन परेपछि त्यसलाई बढाएर ८० जना कृषकलाई दिने निर्णय गरिएको हो । शुक्रबार ७० जनालाई मेसिन प्रदान गरिएको र बाँकी १० वटा मेसिन पछि दिने जनाइएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले मेसिन प्रदान गरिएको बताए । ‘कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको छ’, उनले भने, ‘नगरपालिकाले प्रदान गरेको मेसिनको सदुपयोग गर्नुहोस् ।’
कार्यक्रममा कृषक नन्दु उप्रेतीले मेसिन प्रदान गरेकोमा धन्यवाद दिँदै सही कृषकको पहिचान गरेर नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा उपप्रमुख प्रसाईंले कृषि क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।

साझेदारी अनुदान कार्यक्रमअन्तरगत कृषकलाई बिर्तामोड नगरपालिकाले मेसिन दिएको नगरपालिकाकी पशु सेवा शाखा प्रमुख सावित्राकुमारी दाहालले बताइन् । ६ लाख ४० हजार रुपैयाँको लागतमा उक्त मेसिन खरीद गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६-०७७ मा पशु सेवा अन्तरगत एक करोड १६ लाख बजेट विनियोजन गरेको प्रमुख दाहालले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।