बिर्तामोड । झापाको पुरानो एवं ऐतिहासिक सैनिक बजारले नयाँ पहिचान बनाएको छ । शान्त र सभ्य ठाउँको पहिचान बनाउन सैनिक बजार सफल भएको हो । विगतमा जाँड रक्सी खाने, होहल्ला र झैँ-झगडा गर्नेजस्ता आरोप लाग्दै आएको थियो ।

गत वर्षदेखि लगातार लगाइएको सैनिक महोत्सवले सैनिक बजारमाथि लाग्दै आएको त्यस्तो आरोप चिर्न सकेको हो । दुवै महोत्सव शान्त र सभ्य रुपमा सम्पन्न भएका हुन् । दोस्रो ऐतिहासिक सैनिक महोत्सव फागुन १६ देखि २९ गतेसम्म संचालन भएको थियो ।

विगतमा सैनिक बजारमा व्यवसाय गर्न व्यवसायीहरु हिच्किचाउँथे । अहिले त्यो अबस्था नरहेको बिर्तामोड– १० का वडाध्यक्ष दुर्योधन गुरुङले बताए । ‘गत वर्ष महोत्सव लगाउँदा शान्ति सुरक्षा नहुने भन्दै बाहिरबाट ठेकेदार आउन डराए’उनले भने,‘ तर दुईवटा महोत्सवबाट त्यस्तो केही पनि देखिएन ।’ त्योसँगै सैनिक बजारले बहुजातीय पहिचान पनि बनाएको छ । बिर्तामोड १० मा २५ भन्दा बढी जातजातिको बसोबास छ । झापा जिल्लामा कहीँ नभएको दराई जाति त्यहाँ मात्र पाइन्छ ।

महोत्सवका अवसरमा वडाभित्रका सबै जातजातिले आ–आफ्नो सांस्कृतिक पहिचान देखाएको वडा सदस्य भक्तसिंह राजवंशीले बताए । वडामा बाहुन क्षेत्री, गुरुङ, लिम्बू, राई, तामाङ, नेवार, मगर, सुनुवार, शेर्पा, दमाई, कामी, राजवंशीलगायतका जाति बसोबास रहेको छ। हिन्दु, बौद्ध, किराँत, क्रिश्चियन धर्मप्रति आस्था राख्ने मानिसहरुको बढी बसोबास रहेको त्यस ठाउँमा केही संख्यामा मुस्लिमहरु पनि छन् ।

महोत्सवले खेलकुदको उद्गमथलो सैनिक बजारको अर्को पहिचानलाई समेत उजागर गरेको छ । अन्तर्राष्ट्रिय खेलाडी रामदर्शन गुरुङ, राष्ट्रिय प्रशिक्षक प्रवेश कटुवाल, संजय राई, दिलेन मोक्तानजस्ता खेलाडीलाई सैनिक बजारले नै जन्म दिएको हो । महोत्सवको माध्यमद्वारा सैनिक बजारको खेल र खेलाडीलाई अझ उजागर गर्नु पर्ने अन्तर्राष्ट्रिय खेलाडी गुरुङ बताउँछन् ।

महोत्सवको समापनमा साग खेलाडी कमला श्रेष्ठलाई सम्मान गरिएको थियो । उनी पनि त्यहीकै बासिन्दा हुन् । सबैभन्दा महत्वपूर्ण कुरा, २०२० सालमा तत्कालीन राजा महेन्द्रले इलाममा रहेका भूतपूर्व सैनिकका २ सय परिवारलाई त्यहाँ पुनर्वास गराएका थिए । त्यसपछि त्यस ठाउँको नाम सैनिक रहन गएको हो । महोत्सवबाट त्यो ऐतिहासिकतालाई कायम राख्न सकिएको वडाध्यक्ष गुरुङले बताए । उनका अनुसार महोत्सवले बिर्तामोड १० मा रहेका महाभारतकालीन पोखरीहरुलाई चिनाउन पनि मद्धत पुगेको छ ।

महिला सञ्जाल समतिको आयोजनामा भएको यस वर्षको १३ दिने महोत्सवमा प्रत्येक दिन २ हजारबढी दर्शकले अवलोकन गरेको बताइएको छ । महोत्सवमा ज्योति मगर , प्रमोद खरेल,मेलिना राई, विल्सनबिक्रम राई, दिपक लिम्बू, कमल खत्री, ताराप्रकाश लिम्बूजस्ता कलाकारले मनोरंजन दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।