काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यसअघि तालिका निर्धारण गरेको परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको कारणले परीक्षा सर्ने हल्ला चलेपछि त्रिविले यस्तो निर्णय गरेको हो ।

त्रिवि उपकुलपति कार्यालयले सोमबार उपत्यकाभित्रका आंगिक क्याम्पसका प्रमुख तथा अन्य पदाधिकारीलाई बोलाएर परीक्षाको तयारीबारे छलफल गरेको थियो । छलफलमा तत्काल कोरोना भाइरसको खतरा देखाउँदै परीक्षा स्थगित गर्न नपर्ने तर परीक्षाको समयमा भाइरसको संक्रमणबाट जोगिने उपायबारे सतर्क हुन परीक्षार्थीलाई अनुरोध गर्ने निर्णय भएको छ ।

छलफलमा सहभागी रत्नराजयलक्ष्मी क्याम्पसका विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख देवीप्रसाद घिमीरेले भने, ‘अहिले नै परीक्षा सार्नुपर्ने अवस्था छैन भन्ने विषयमा सहभागीको राय रह्यो । तर परिस्थति प्रतिकुल हुँदै गयो भने जतिखेर पनि निर्णय गर्ने विषयमा छलफल भएको छ ।’

त्रिविले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको मिति चैत सात गतेदेखि तोकेको छ । त्यस्तै चैत ९ गतेबाटै एक वर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भइसकेको छ । एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेबाट सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । चैत २७ गतेबाट अन्य तहको पनि परीक्षा सञ्चालनको तालिका तयार भएको पनिकाले जनाएको छ ।’

अन्नपूर्ण पोस्टबाट

तपाइको प्रतिक्रिया दिनुहोस्।