रोम  । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण यतिबेला खेलकुदका अधिकांश गतिविधि स्थगित गरिएका छन्। विश्व चर्चित युरोपियन लिग फुटबल प्रतियोगिताहरु पनि कोरोना भाइरसको मारमा परेको छ। युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगदेखि लिएर इङ्लिस प्रिमियर लिग र स्पेनिस ला लिगासम्म कोरोना भाइरसको मारमा परेका छन्।

कोरोना भाइरसकै त्रासका कारण इटालियन सिरिएका खेलहरु पनि स्थगित गरिएको छ। तर, इटालियन फुटबल महासंघले सिरिएको सिजन सफतापूर्वक टुंग्याउन युरो कप-२०२० स्थगित गरिनु पर्ने माग अघि सारेको छ। इटालियन फुटबलका अध्यक्ष ग्याब्रियल ग्राभिनाले युरोपियन फुटबल महासंघ (यूईएफए) को मंगलबार हुने बैठकमा युरो कप रोक्न प्रस्ताव राख्ने भएका छन्।

अघिल्लो मंगलबारदेखि सिरिएका कुनै पनि खेल भएका छैनन्। ‘कोरोना भाइरसको त्रासका कारण घरेलु लिग फुटबलहरु प्रभावित भएका छन्। घरेलु फुटबलको सिजनलाई सफलतापूर्वक टुंग्याउन पनि युरोपियन च्याम्पियनसिप रोकिनु पर्छ’, अध्यक्ष ग्राभिनाले भनेका छन्, ‘युरो कप रोक्नु नै सबैभन्दा उत्तम विकल्प हो।’

कोरोना भाइरसका कारण प्रतियोगिताहरु प्रभावित भएपछि यूईएफएले मंगलबार आफ्ना ५५ वटै सदस्य राष्ट्रका पदाधिकारीको आपतकालीन बैठक बोलाएको छ। उक्त बैठकमा युरो कप—२०२० को विषयमा पनि छलफल गरिने भएको छ। आगामी युरो कप युरोपका विभिन्न राष्ट्रमा जुन १२ देखि जुलाई १२ तारिखसम्म आयोजना गरिने कार्यक्रम रहेको छ।

युरोपियन क्लब एसोसिएसन, युरोपियन लिग र खेलाडी संघका प्रतिनिधिलाई पनि बैठकमा आमन्त्रित गरिएको छ। उक्त बैठकमा युरोपियन घरेलु लिगको भविष्य र युरो कप-२०२० को विषयमा छलफल हुनेछ। युरो कप एक वर्ष स्थगित गर्ने विषय पनि बैठकको एजेन्डा बन्ने छ। इटाली कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभावित तुल्याएको युरोपेली राष्ट्र हो। इटालियन क्लबका केही फुटबल खेलाडीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

यसैबीच, स्पेनिस ला लिगाका अध्यक्ष जाभियर टेबसले भने ला लिगाको सिजन सफलतापूर्वक सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताएका छन्। कोरोना भाइरसकै त्रासका कारण गत बिहीबारदेखि स्पेनिस ला लिगाका सम्पूर्ण खेलहरु स्थगित गरिएका छन्। स्पेनिस ला लिगा क्लब भ्यालेन्सियाका पाँच खेलाडी र पदाधिकारीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।