राजगढ । झापाको बाह्रदशीमा लगाइएको स्ट्रबेरीले उत्पादनसँगै राम्रो बजार पनि पाएको छ । यहाँ दैनिक एकदेखि डेढ टन स्ट्रबेरी उत्पादन हुने गरेको समर्पण एग्रो प्रालिले जनाएको छ । ‘बजारको मागअनुसार स्ट्रबेरी टिप्ने गरेका छौं’ प्रालिका ब्यबस्थापक विवेक शुक्लाले भने ,‘त्यही भएर उत्पादनको दर एउटै छैन ।’ उनले सरदर एकदेखि डेढ टनसम्म दैनिक उत्पादन भएर खपत हुने गरेको बताए । हालसम्म ९०१ टन स्ट्रबेरी उत्पादन भएको शुक्लाले जानकारी दिए ।

गत १६ डिसेम्बरमा स्ट्रबेरीमा पहिलो फल लागेको थियो । त्यसपछि २५ डिसेम्बरमा स्ट्रबेरीले २५० ग्राम उत्पादन दिएको थियो । हिउँद मौसम र चिसो हावापानीमा फल्ने स्ट्रबेरीको सिजन अब सकिन लागेको हो । अहिले अन्तिम सिजन चलिरहेको शुक्लाले बताए । ‘अब यसको उत्पादन १५ अप्रिलसम्म मात्र चल्छ ’उनले भने ,‘मौसमले साथ दिएको खण्डमा मार्चसम्म फल्न सक्छ ।’ केही दिनअघिको वर्षाले स्ट्रबेरीलाई असर पुर्याएको उनले बताए ।

पहाडमा फल्ने फलले तराईमा राम्रो उत्पादन दिन नसक्ने आशंकाका बीच गोल्यान एग्रो प्रालिले बाह्रदशीमा पहिलोपटक लगाएको स्ट्रबेरीले राम्रो उत्पादन दिएको हो । उत्पादनसँगै यसले राम्रो बजार पनि पाएको छ । नयाँ फल स्ट्रबेरी हेर्न र किन्न जानेको भीड लाग्ने गरेको छ । नेपालका विभिन्न स्थानसँगै अमेरिका, जापान, कोरिया र अष्ट्रेलियाबाट समेत स्ट्रबेरी हेर्न आएको ब्यबस्थापक शुक्लाले जानकारी दिए ।

फार्मबाटै दैनिक ३५–४० केजी स्ट्रबेरी बिक्री हुने गरेको छ । मंगलबार ‘ए’ ग्रेडको ९.५ केजी र ‘ई ’ ग्रेडको २१ केजी स्ट्रबेरी फार्मबाटै बिक्री भएको कर्मचारी राजेन्द्र भट्टले बताए । त्यहाँ दुई ग्रेडको स्ट्रबेरी निकालिएको छ । यहाँ उत्पादित स्ट्रबेरीको बिर्तामोड, दमक, विराटनगर , धरान र काठमाडौंमा राम्रो माग रहेको छ । बिर्तामोडमा दैनिक एक क्वीन्टल स्ट्रबेरी आपूर्ति हुँदै आएको छ । त्योसँगै दुबई पनि पठाइएको थियो । दुबईमा यहाँको साम्पल टेष्ट गर्दा पूर्ण अर्गानिक पाइएको शुक्लाले बताए । त्यसपछि दुबईबाट दैनिक ७ टन स्ट्रबेरीको माग आएकोमा त्यसबमोजिम आपूर्ति गर्न नसक्ने भन्दै यस वर्ष नपठाएको उनले जानकारी दिए ।

अर्को वर्षदेखि दुबई र ओमानमा स्ट्रबेरी निर्यात गर्ने योजना रहेको उनले सुनाए । स्ट्रबेरी ‘ए’ ग्रेड एक हजार र ‘ई’ गे्रड ५ सय रुपैयाँ प्रतिकेजी बिक्री हुने गरेको छ । होलीको अवसर पारेर ‘ए’ ग्रेडलाई ८ सय र ‘ई’ ग्रेडलाई ४ सय रुपैयाँ प्रतिकेजी झारिएको छ । फार्मबाट टिपेर मजदुरहरुले त्यहीँ २ सय ५० ग्रामको दरले प्याकेजिङ गर्ने गरेका छन् । टिपेका स्ट्रबेरी बिग्रिन नदिन कम्पनीले फार्ममै कोल्डस्टोर बनाएको छ ।

स्थानीयलाई रोजगार

गोल्यानग्रुपको समर्पण एग्रो प्रालिले बाह्रदशी -१ को जनता बजारदेखि पश्चिम ३८.५ एकड (करिब ३२ बिगाह) जग्गामा स्ट्रबेरी लगाएको हो । खेतीका लागि शुरु-शुरुमा सय जना कामदार खटिन्थे भने अहिले ६० जनाले दैनिक ज्यालादारी गरिरहेका छन् । महिलालाई पाँच सय र पुरुषलाई ६ सय रुपैयाँको दरले स्थानीयहरुलाई नै रोजगारीमा लगाएको कम्पनीले जनाएको छ  । जसबाट स्थानीय आदिवासी, दलित र मुस्लिम समुदायमा बेरोजगारको समस्या केही हदसम्म हल भएको छ ।

नजिकै घर भएकी सविना राजवंशी ५ महिनादेखि मजदुरी गरिरहेकी छन् । ५ सय रुपैयाँ हाजिराको दरले उनले हप्तामा ३५ सय रुपैयाँ ज्याला पाउँछिन् । तीन छोरीकी आमा सविनाको परिवारलाई मिस्त्री काम गर्ने श्रीमानको एक्लो कमाइले गुजारा गर्न गाह्रो भइरहेको थियो । ‘पहिला घरब्यबहार चलाउन समस्या थियो’उनले भनिन्,‘अब त मैले पनि सहयोग गर्ने गरेकी छु ।’

स्ट्रबेरी फार्मले सविनासँगै न्यून आय भएका यशोदा माझी र दिपिका टुडूलाई पनि काम गरेर गुजारा गर्न मद्धत पुगेको छ । त्यहाँ राजवंशी , माझी, सन्थाल र मुस्लिम समुदायका महिला र पुरुषहरुले बढी रोजगारी पाएका छन् । बाह्रदशी १ मा व्यावसायिक स्ट्रबेरी खेती गरेको गोल्यान ग्रुपले घेराबारीमा पनि खेती विस्तार गर्न लागेको छ ।

त्यहाँ १ हजार विगाहामा व्यावसायिक रुपमा फलफूल र तरकारी खेती गर्न लागेको जनाएको छ । फलफूल र तरकारीमा नेपाललाई आत्मनिर्भर बनाउँदै यहाँ उत्पादित सामान विदेश निर्यात गर्ने योजना रहेको गोल्यान ग्रुपका सञ्चालक पवन गोल्यानले बताए । बाह्रदशी १ मै पनि कम्पनीले स्ट्रबेरीसँगै मकै, काँक्रा र खरबुजाको खेती थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।