राजगढ ।पुराना झिल र पोखरीको संरक्षणमा बाह्रदशी गाउँपालिका जुटेको छ । ऐतिहासिक झिलर पोखरीहरु संरक्षणविहीन भएर मासिन लागेपछि संरक्षणमा लाग्न स्थानीय सरकार बाध्य बनेको हो । बाह्रदशी गाउँपालिकाको वडा नं १ मा रहेको साधुपर्ति झिल मासिने क्रममा छ । करिब २२ विगाहामा फैलिएको सो झिल संरक्षणको अभावमा सकिन लागेको हो ।

पशुपति माध्यमिक विद्यालय वडा न. २ को नाममा रहेको सो झिल संरक्षणको पर्खाइमा रहेको वर्षौ भयोे । ऐतिहासिक एवं आकर्षक झिल पुरिदै गएर अहिले ६ विगाहामा साँघुरिएको छ । संरक्षणको अभावसँगै त्यस झिललाई सदुपयोग पनि गर्न सकिएको छैन । स्थानीयले खेतीका लागि झिललाई मास्दै लगेका छन् । लोप हुने अबस्थामा पुगेपछि गाउँपालिकाले संरक्षणको पहल थालेको छ । साधुपर्ति झिललाई सिमसार क्षेत्रको रुपमा विकास गर्ने योजना बनाइएको वडा नं १ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए ।

त्यसका लागि गाउँपालिका कार्यालयले यस वर्ष २० लाख रुपैयाँ छुट्याएको उनले जानकारी दिए । त्यस बजेटबाट डिपीआर तयार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने दीर्घकालीन योजना रहेको राजवंशीको भनाइ छ । वडा नं १ भित्रै हात्तीपाइले झिल, भोडाझारको होलीजस्ता प्राकृतिक सम्पदा पनि छन् । जुन चारकोशे झाडीभित्र अबस्थित छन् । तीं सम्पदालाई पनि संरक्षण र संबद्र्धन गर्ने पहल भइरहेको वडाध्यक्ष राजवंशीले बताए ।

सोही वडामा रहेको ऐतिहासिक लक्ष्मीथान मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि यस वर्ष ३३ लाख रुपैयाँ छुट्याइएको छ । संघीय अर्थमन्त्रालयले २० लाख र वडा कार्यालयले १३ लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष राजवंशीले जानकारी दिए । त्यस्तै कंचनगढ धार्मिकस्थल साधुकुटीमा रहेको पुरानो पोखरी पनि संरक्षणको पर्खाइमा छ । प्राकृतिक रुपमा बाह्रदशी जंगलभित्र उत्पति भएको त्यस पोखरी आकर्षक र मनमोहक छ । तर, संरक्षण र संबद्र्धन नहुँदा पोखरी ओझेलमा परेको छ ।

जंगलको बोटबिरुवाले करिव ७ कठ्ठा क्षेत्रफलमा फैलिएको त्यो तीनकुने पोखरी पुरिन लागेको छ । त्यसलाई सरसफाइ गरेर पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना अघि सारिएको वडा नं ६ का वडाध्यक्ष रत्नप्रकाश योङहाङले बताए । उनले आगामी वर्ष बजेट छुट्याएर त्यसलाई व्यवस्थित गरिने बताए । कंचनगढ साधुकुटी डाँडामा भ्यूँटावर बन्न शुरु भएको बताउँदै उनले समग्र त्यस क्षेत्रलाई पर्यटक आकर्षण केन्द्र बनाउने योजना रहेको योङहाङले सुनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।