बिर्तामोड । कोरोना भाइरसको संभावित जोखिमका कारण बजार र यातायात बन्द भएपछि दैनिक उपभोग्य तरकारीको मूल्य आकाशिएको छ । बजारमा तरकारीको आपूर्ति हुन छाडेपछि अभावसँगै मूल्य बढेको हो । बिर्तामोडमा १५ देखि २० प्रतिशत तरकारीको मूल्य बृद्धि भएको पाइएको छ ।

खासगरी आलु, टमाटर, मुला, फूलकोपी, अदुवाजस्ता तरकारीको मूल्य बढेको हो । भारतबाट आयात हुँदै आएका तरकारी नाका बन्द भएर आउन छोडेपछि मूल्य बढेको व्यवसायीहरुले बताएका छन् ।

आलु प्रतिकेजी ४० बाट बढेर ५०, टमाटर ४० बाट बढेर ६०, मुला ३० बाट बढेर ४०, फूलकोपी ४० बाट बढेर ५० रुपैयाँ प्रतिकेजी पुगेको हो । भारतबाट तरकारी आयात नभएर मूल्य बढेको कृषि थोक बजारका तरकारी व्यवसायी भूषण शाहले बताए । उनले स्थानीय क्षेत्रबाट आउने सागसब्जीको मुल्य भने यथावत रहेको जानकारी दिए ।

तरकारीको मूल्यबृद्धि र अभावका कारण बिर्तामोडको कृषिथोकमा उपभोक्ताहरुको खासै चहलपहल छैन । अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने सूचना पाएपछि धेरै उपभोक्ताहरुले पहिला नै खाद्यान्नसँगै तरकारी सञ्चित गरेर राखेका छन् ।

भारतबाट तरकारी आयात नभएपनि झापाका ग्रामीण क्षेत्रलगायत इलाम, पाँचथर, धरान, धनकुटाबाट तरकारी आयात भइरहेको कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले जनाएको छ ।

मुख्य तरकारीको रुपमा रहेको आलुको स्टक सकिएको कृषि बजार व्यवस्थापन समितिकी तथ्यांक सहायक मायादेवी राजवंशीले बताइन् । उनले आलुसँगै अन्य तरकारीको स्टक पनि सकिदैँ गएको जानकारी दिइन् ।

नयाँ सिजनका भिन्डी, करेला, बोडी, परवलजस्ता तरकारी जुन भारतबाट आयात हुने गरेको छ, त्यस्ता तरकारीको मूल्य धेरै बढेको व्यवसायी शाहले बताए । कोरोनाको संक्रमण हुन नदिन खान भनिएका अदुवा, लसुन, कागतीजस्ता तरकारी र फलफूल बजारमा नपाइएको र पाएपनि भाउ बढेको बिर्तामोड ३ का सुवाष महतोले बताए ।

बिर्तामोडको कृषिथोक बजारलाई प्रदेश नं १ कै ठूलो कृषि बजार मानिन्छ । त्यहाँ दैनिक रुपमा सरदर ३४० मेट्रिक टन तरकारी तथा फलफूल आपूर्ति हुने गरेको छ ।

यसैबीच कोरोनाको सम्भावित जोखिमबाट जोगिन प्रत्येक बुधबार लाग्ने साप्ताहिक बुधबारे हटिया बन्द गरिएको छ । बजार व्यवस्थापन समितिले सोमबार सूचना जारी गरी अनिश्चितकालका लागि बुधबारे हटिया बन्द गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।