राजगढ । कोरोना भाइरस संक्रमण पुष्टि भएकी युवतीसँगै कतार एयरवेजको विमान क्युआर ६५० उडानबाट नेपाल आएका झापा बाह्रदशीका दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ । बाह्रदशी -१ का ती दुई युवालाई बिहीबार राजगढमा निर्माण गरिएको क्वारेन्टाइनमा पठाइएको हो ।

सामाजिक सञ्जालमा क्युआर ६५० उडानबाट कोरोना भाइरस संक्रमित युवतीसँगै आएका युवाबारे विवरण सार्वजनिक भएपछि गृह मन्त्रालयको आदेशमा उनीहरुलाई क्वारेन्टाइनमा पठाएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले बताए । उनीहरु उक्त उडानबाटै नेपाल आएको पुष्टि भएको छ ।

ती युवालाई राजगढको एस्टन हस्पिटलमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो । त्यहाँ १० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । यसअघि ती युवालाई होम क्वारेन्टाइनमा राखिएको थियो । त्यसको तीब्र बिरोध भएपछि बिहीबार क्वारेन्टाइन निर्माण गरी राखिएको हो । उनीहरुका परिवारलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

सामाजिक सञ्जालमा उक्त उडानबाट झापाका ५ र मोरङका २ जना नेपाल आएको चर्चा भएको थियो । तीमध्ये एक जना यसअघि नै मेची अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भइसकेका छन् । बाह्रदशीका दुई युवा ती युवतीसँगै नेपाल फर्केको चर्चा चलेसँगै गाउँपालिकाका तर्फबाट खोजी गरी घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष राजवंशी बताए । उनले गाउँपालिकामा कसैलाई ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिनेबित्तिकै स्वास्थ्यजाँच गर्न दुईजना चिकित्सक खटाइएको जानकारी दिए । बाह्रदशीमा पशुपति मावि, गौरीशंकर माविलगायतमा गरी ४० वटा बेड भएको क्वारेन्टाइन स्थापना गरिएको जानकारी दिए ।

त्यसैगरी सोही उडानबाट नेपाल आएका पाँचथरका दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ ।
पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवालाई बुधबार साँझ प्रदेश सरकारले मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा पठाएको हो । सामाजिक सञ्जालमा यस प्रकारको चर्चापछि प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा दुवै युवालाई क्वारेन्टाइन पठाइएको हो ।

एम्बुलेन्सबाट उनीहरुलाई मोरङ पु¥याइएको हो । दुवै युवाको परिवारलाई विशेष निगरानीमा ‘होम क्वारेन्टाइन’मा राखिएको छ र तिनको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गर्ने भएका छन् । दुवैमा कोभिड–१९ को संक्रमणबारे शिघ्र स्वास्थ्य परीक्षण गरिने मन्त्री आङ्बोले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।