कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कमल गाउँपालिकाले १० लाख रुपैयाको कोष स्थापना गरेको छ ।

गाउँपालिकाले स्थापना गरेको कोषमा जनप्रतिनिधिको सेवा सुविधाबाट पनि १० प्रतिशत कट्टा गरी जम्मा हुने जनाइएको छ । त्यसैगरी गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखाका कर्मचारीहरु बाहेकले चैत महिनाको तलबको १० प्रतिशत रकम जम्मा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठद्वारा सम्प्रेषित सूचनामा जनाइएको छ ।

त्यसैगरी कोषमा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले थप २५ हजार रुपैयाँ, वडा नं. ६ का कृष्ण भण्डारीले ५१ हजार रुपैयाँसहित विभिन्न व्यक्ति एवम् संस्थाहरुबाट ९२ हजार ५०५ रुपैयाँ जम्मा भएको उपाध्यक्ष सिवाकोटीले जानकारी दिए ।

उक्त कोषमा सहयोग गर्न चाहने महानुभावका लागि एनएमबी बैङ्क केर्खा शाखाको खाता नम्बर ०६४००५८१९६४००८ मा रकम गम्मा गर्न सकिनेसमेत अनुरोध गरिएको छ ।

गाउँपालिकाको बुधबारको बैठकले गाउँपालिका स्तरमा हुने सम्भावित जोखिम र समस्याहरुको न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।