काठमाडौं । सरकारले मुलुकका प्रदेश १, गण्डकी र प्रदेश ५ का अस्पतालमा शुक्रबारदेखि कोरोना भाइरसको परीक्षण सुरु गर्ने भएको छ ।

प्रदेश १ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको सुरुवात गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसका लागि प्रविधिक टोली समेत पठाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । देशका सातै प्रदेशमा कोरोना जाँच गर्ने व्यवस्था मिलाउने योजना बनाइए पनि हाल भने तीन स्थानमा मात्र व्यवस्था गरिएको निर्देशक पाण्डेले बताए ।

कोरोनाभाइरस संक्रमण परीक्षण जोखिमपूर्ण हुने भएकोले स्थल चयन गर्न समेत कठिनाई हुने निर्देशक पाण्डेको भनाइ छ ।

सबै स्थानमा परीक्षण स्थाल तोक्नभन्दा प्रभावकारी ढंगले काम गर्न जरुरी हुने उनी बताउँछन् । तोकिएका तीन स्थानमा आवश्यक जनशक्ति पठाउने पनि उनले बताए । पहिलो चराणमा तीन स्थानमै बीसदेखि सय नमुना परीक्षण गर्न सक्ने उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।