दमक । झापाको कमल गाउँपालिकाले विदेशबाट हालै आफ्ना घर आएका सबैलाई अनिवार्य होम क्वारेन्टाइनमा राखिएको जनाएको छ । वडा कार्यालयमार्फत टोल विकास संस्थाहरुको समन्वयमा गाउँपालिकाले ५८ जना विदेशबाट आएको विवरण प्राप्त गरेको र ती सबै होम क्वारेन्टाइनमा बसिरहेको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताईन् ।

उनले हालसम्म कमलका ७ वडामा विदेशबाट आएका ५८ जना सम्पर्कमा आएको र अन्य कोही भए थप पहिचान गरिने बताईन् । उनीहरुका लागि गाउँपालिकाले केर्खाको शहिद धर्मभक्त माध्यमिक विद्यालयमा १५ शैय्याको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा आइतबार बसेको बैठकले कोरोना भाइरस (कोभिड १९ ) संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनलाई सवै गाउँवासीले कडाईका साथ पालना गर्नुपर्ने तथा लकडाउनका क्रममा अत्यावश्यक खाद्यान्न,तरकारी औषधी, डेरी, कुखुरा तथा बंगुरको दाना ढुवानीलगायत सुरक्षित तवरले यथावत सञ्चालन गर्न समेत व्यवसायीलाई अनुरोध गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष काफ्लेले जानकारी दिईन् ।

यसैगरी बैठकले गाउँपालिकामा दैनिक ज्यालादारी गरी छाक टार्ने मजदुरको विवरण लिने, कलम रेडक्रसद्वारा सञ्चालित एम्वुलेन्सलाई आइसोलेसन सहितको तयारी अवस्थामा राख्ने, विभिन्न सडक र चौक बजारमा लगाएका ढाट हटाउने लगायतका निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए । त्यस्तै, कमलनगर जेसीजले समेत कोरोना भाइरसको संक्रमण हुन नदिन १० शैय्याको थप क्वारेन्टाइन निर्माण गर्न लागेको जेसीजका पूर्वअध्यक्ष रुपनारायण न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।