हल्दिबारी, बैशाख ०३। र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा हल्दिबारीका एक युवकलाई कोरोना भाइरस पोजेटिभ भेटिएको छ। झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

दुबईबाट एक महिना अघि फर्किएका युवकको स्वास्थ्य शाखा हल्दिबारीको टोलीले बुधबार दुई पटकसम्म परीक्षण गर्दा समेत रिपोर्ट पोजेटिभ आएको बताइएको छ। ती युवक होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।

आरडिटीमा कोरोना पोजेटिभ देखिएपछि स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल विराटनगर पठाइएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिए। युवकमा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकामा त्रास फैलिएको छ। ‘आरडिटीमा कोरोना पोजेटिभ देखिए पनि आत्तिनु पर्ने अवस्था छैन’ गाउँपालिकाका अध्यक्ष लिङ्देनले भने। उनले अस्पतालबाट थप रिपोर्ट नआउन्जेल त्रास नफैलाउन सबैसमक्ष आग्रह गरेका छन्।

गाउँपालिकामा भारतसहित तेस्रो मुलुकबाट आएका ४८ जनाको आरडिटी किटले परीक्षण गरिएको छ। त्यसमध्ये ११ जनाको स्वाब थप परीक्षणका लागि पठाइएको जनाइएको छ। 

तपाइको प्रतिक्रिया दिनुहोस्।