कठमाडौं,जेठ १०। शनिबार आज बाँकेमा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुर गाउँपालिकामा शनिबार २७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

यसअघि नरैनापुरमा ८६ जना संक्रमित थिए । शनिबार थपिएकासँगै नरैनापुरमा कोरोना संक्रमितको संख्या १ सय १३ जना पुगेको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा नयाँ २७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

राप्ती विज्ञान प्रतिष्ठान अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एउटै पालिकामा एकैदिन २७ जनामा संक्रमण देखिएको हो ।  नरैनापुरस्थित मदरसाका ६, नरैनापुर ३ राष्ट्रिय प्रावि गेगलीमा क्वारेन्टाइनमा बसेका १५ र नरैनापुर १ राष्ट्रिय प्रावि महतेनीयाको क्वारेन्टाइनमा रहेका ६ जनामा शनिबार संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार संक्रमित १३ जना भागेपछि सुरक्षाकर्मीहरुले खोजी गरी नेपालगन्ज ल्याउने तयारी गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।