खाँदबारी, जेठ १५ । सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका १ र २ वडाको बीचमा रहेको सिसुवाखोलामा झोलुङगे पुल नहुँदा गाउँपालिकाको केन्द्र ताम्कुसँग आवात जावत गर्न समस्या परेको छ । २ सय ५० भन्दा बढी परिवारको गाउँपालिका केन्द्रसँग सम्बन्ध टुट्ने गरेको छ ।

बर्खा लागेपछि गाउँपालिका–१ का रियाम्मा, मोस्तेम र वडा नम्बर २ वालाका स्थानीयवासीको सम्बन्ध बर्खाको भेलले टुटाउने गरेको वडा नम्बर १ का अध्यक्ष अलक्षकुमार कुलुङले जानकारी दिए । बर्खायामको भेलले बाँस र काठबाट बनाइएको अस्थायी पुल बगाउँदा गाउँपालिकाका दुई वडा र केन्द्रबीचको सम्बन्ध टुट्ने गरेको उनको भनाइ छ । देवादहमा पुल नहुँदा स्थानीयवासीले धेरै सास्ती पाउने गरेका छन् ।

सिसुवाखोला बढेपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुने गरेको छ । वारिपारि आवतजावतमा समस्या नहोस् भनेर खोला बढ्नसाथ अस्थायी पुल बनाउन बाँस र काठको जोहो गर्नुपरेको स्थानीयवासी बताउँछन् । वर्षात्को भेलमा ज्यान जोखिममा राखेर २ सय ५० भन्दा बढी परिवारले सो फड्केमार्फत आवतजात गर्ने बाध्य भएको कमलराज कुलुङले बताए । नागरिकखबरबाट

तपाइको प्रतिक्रिया दिनुहोस्।