ताप्लेजुङ,जेठ १५ । ताप्लेजुङमा बिहीबार दिउँसो निर्माण सामग्री बोकेर जादै गरेको ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आउँदै गरेको ना ६ ख ८२६२ नम्बरको निर्माण सामग्रीको ट्रक दुर्घटना हुँदा चालक बाह्रदशी ६ डाँगीबारी झापाका २९ वर्षीय ज्ञानबहादुर तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरिक्षक विष्णु बहादुर खड्काले जानकारी दिएका हुन् ।

जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आएको ट्रक फुङलिङ नगरपालिका वडा नं ९ कटहरे भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते चालक तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा उनको बाटैमा निधन भएको छ ।

ट्रकको सहचालक भने सकुशल रहेका छन् । ट्रक ग्रामिण सडकबाट करिव ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण ब्रेकफेल हुनसक्ने ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख दिपक दुलालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।