काठमाडौं, १२ भाद्र । हिलोमैलो र वर्षामासको चटारोलाई झेल्दै नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालका खाडीका देशहरुको प्रयास (बिमस्टेक) को शिखर बैठकको अन्तिम तयारी पूरा गरेको छ ।

म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौं आइपुगेका छन् भने अन्य पाँच देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरु बुधबार र बिहीबार बिहान काठमाडौं आइपुग्दैछन् ।

काठमाडौंमा भदौ १४ र १५ गते दुई दिनसम्म चल्ने चौथो बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने ७ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखमध्ये बंगलादेशकी प्रधानमन्त्री शेख हसिना उमेरको हिसाबले सबैभन्दा ज्येष्ठ प्रतिनिधि हुन् । अन्य शीर्ष नेताहरु प्रायः सबै ६० देखि ६५ वर्षको आसपासमा छन् भने शेख हसिना ७० वर्ष पुगेकी छिन् ।

बिमस्टेक सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भूटानका प्रधानमन्त्री (चीफ एडभाइजर) दासो छिरिङ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यानको सहभागिता हुनेछ । सम्मेलनको अध्यक्षता नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
अब भीआइपी पाहुनाका रुपमा नेपाल आउने बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुको प्रोफाइलबारे छोटो चर्चा गरौं-

राष्ट्रपति विन मिन्ट (म्यानमार)

पाँच करोड भन्दा धेरै जनसंख्या रहेको म्यानमारका राष्ट्रपति विन मिन्ट ६६ वर्षका भए । सन् १९४८ जनवरी ४ मा जन्मिएका मिन्ट सन् २०१८ मा ३० मा म्यानमारको राष्ट्रपति चुनिएका हुन् ।

उनी राष्ट्रपतिका रुपमा चुनिनु अगाडि म्यानमारको संसदमा सभामुख थिए । उनी म्यानमारकी स्वतन्त्रतावादी नेतृ आङ सान सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका नेता हुन् ।

म्यानमारका राष्ट्रपति मिन्ट बौद्ध धर्मावलम्बी भएकाले उनी नेपाल आएका बेला लुम्बिनीको भ्रमणमा समेत जाने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रयुट च्यान ओचा (थाइल्याण्ड)

करीब ७ करोड जनसंख्या भएको पूर्वी एशियाली मुलुक थाइल्याण्डका सैन्य सरकारका प्रधानमन्त्री प्रयुट च्यान ओचा ६४ वर्षका भए । ओचाको जन्म सन् १९५४ मार्च २१ मा भएको हो ।

पूर्वसैनिक जनरल ओचा सैनिक ‘कु’ मार्फत सन् २०१४ अगस्ट २४ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका हुन् । उनी सन् २०१० देखि सन् २०१४ सम्म रोयल थाई आर्मीका कमाण्डर इन चीफसमेत थिए ।

पूर्वप्रधानमन्त्री यिङलक सिन्हावात्रालाई हटाएर गठन भएको सैन्य सरकारका प्रधानमन्त्री ओचाले आफ्नो सरकारको आलोचना गर्न र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएका छन् ।

प्रधानमन्त्री/प्रमुख सल्लाहकार दासो छिरिङ वाङचुक (भूटान)

करीब ८ लाखमात्रै जनसंख्या भएको दक्षिण एशियालको सानो मुलुक भुटानका अन्तरिम चुनावी सरकारका प्रमुख सल्लाहकार दासु छिरिङ वाङचुक भुटानका प्रधानन्यायाधीशसमेत हुन् ।

वाङचुकलाई गत अगस्ट ८ तारिखमा भुटानका राजाले संसदीय निर्वाचनका लागि गठन गरिएको चुनावी सरकारका प्रमुख सल्लाहकारको रुपमा नियुक्त गरेका हुन्, नेपालमा खिलराज रेग्मीलाई जस्तै ।

प्रधानमन्त्री शेख हसिना (बंगलादेश )

१६ करोड भन्दा धेरै जनसंख्या भएको दक्षिण एशियाली देश बंगलादेशकी प्रधानमन्त्री शेख हसिना ७० वर्षकी भइन् । सन् १९४७ सेप्टेम्बर २८ मा जन्मिएकी हसिनाले सन् २००९ देखि बंगलादेशको प्रधानमन्त्रीका रुपमा सरकार चलाइरहेकी छिन् । यो उनको तेस्रो कार्यकाल हो ।
त्यसो त प्रधानमन्त्री हसिना यसअघि सन् १९९६ देखि २००१ सम्म पनि बंगलादेशकी प्रधानमन्त्री बनेकी थिइन् । उनी बंगलादेशका प्रथम राष्ट्रपति सेख मुजीबुर रहमानकी छोरी हुन् । उनी बंगलादेश अवामी लिग पार्टीकी नेतृ हुन् ।

अहिले बंगलादेशमा चुनावको चटारो सुरु भएको छ । चुनावी व्यवस्थताले गर्दा बिमस्टेक बैठकमा आउन नभ्याउने बताएकी हसिनालाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेर जसरी पनि आउन भनेपछि उनी बैठकमा सहभागी हुन तयार भएकी हुन् ।

प्रधानमन्त्री हसिना बिमस्टेक बैठकमा सहभागी हुने ७ जनामध्ये एकमात्र महिला प्रतिनिधिमात्रै होइनन्, उमेर र राजनीतिक निरन्तरताका हिसाबले सबैकी दिदीसमेत हुन् ।

उमेरको हिसाबले मात्रै नभएर प्रधनामन्त्री हसिना बिमस्टेक सदस्य राष्ट्रहरुको केन्द्र भागमा छिन् । किनभने, बिमस्टेकका लागि बंगलादेशको भूमिका निर्णायक रहेको छ । बिमस्टेकको उत्पतिमा बंगालादेशको अहम भूमिका छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेना (श्रीलंका)

करीब २ करोड जनसंख्या रहेको दक्षिण एशियाली देश श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना ६६ वर्षका भए । सन् २०१५ जनवरी ९ मा श्रीलंकाको राष्ट्रपति बनेका सिरिसेनाको जन्म सन् १९५१ सेप्टेम्बर ३ मा भएको होे ।

सिरिसेना राष्ट्रपति हुनुभन्दा अगाडि तीनपटक मन्त्री भएका थिए । उनले सन् २०१५ को राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षेलाई हराएका थिए ।

सिरिसेना वौद्धमार्गी नेता हुन् । यही कारण उनी बिमस्टेक बैठकमा आएबा बेला बुद्धको जन्मस्थल लुम्बिनीसमेत जाने कार्यक्रम छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी (भारत)

सवा अर्ब जनसंख्या रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ६७ वर्षका भए । सन् १९५० सेप्टेम्बर १७ मा जन्मिएका नरेन्द्र मोदीले सन् २०१४ बाट भारतको १४ औं प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालिरहेका छन् । उनको कार्यकाल अब केही महिना बाँकी छ ।

प्रधानमन्त्री हुनुअघि मोदी सन् २००१ देखि २०१४ सम्म भारतको गुजरात प्रान्तको मुख्य मन्त्री रहेका थिए । राष्ट्रवादी र हिन्दुवादी नेताको छवि बनाएका मोदी भारतीय जनता पार्टीका नेता हुन् ।

उनलाई चतुर नेताका रुपमा पनि चिनिन्छ । उनैको नेतृत्वमा सन् २०१४ को आम निर्वाचनमा भाजपाले बहुमत हासिल गरेको हो । अबको चुनाव उनका लागि चुनौतीपूर्ण छ ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई बिमस्टेक बैठकसँगमात्रै जोडेर हेरिएको छैन, यो भ्रमणले नेपाल-भारत दुई पक्षीय सम्बन्धलाई पुनर्ताजगी गराउने अनुमान नेपाली राजनीतित्रहरुले गरेका छन् । र, भ्रमणका क्रममा मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले पशुपति क्षेत्रमा संयुक्तरुपमा धर्मशालाको उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

यसका साथै नेपाल-भारत रेलमार्ग एवं ‘बल्क कार्गो’का विषयमा पनि छलफल र समझादारी गर्ने गृहकार्य दुई देशका अधिकारीहरुले गरिरहेका छन् ।

पाकिस्तान र आपगानिस्तानसमेत सदस्य रहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन -सार्क) लाई सक्रिय बनाउन अनिच्छुक देखिएको भारतको ध्यान बिमस्टेकतिर बढ्ता सोझिएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यो शिखर बैठकमा आकर्षणको केन्द्र हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली (नेपाल)

दुई करोड ८० लाख भन्दा धेरै जनसंख्या रहेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ६६ वर्षका भए । सन् १९५२ फेब्रुअरी २२ -वि.स. २००८ फागुन ११) मा जन्मिएका ओली नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत हुन् । अहिले उनी दुईतिहाई बहुमतसहितको शक्तिशाली प्रधानमन्त्रीका रुपमा कार्यरत छन् ।

ओली ०७४ फागुनमा दोस्रोपटक प्रधानमन्त्रीको रुपमा चुनिएका थिए । उनी यसअघि ०७२ असोजबाट ०७३ साउन सम्म प्रधानमन्त्री रहेका थिए । पहिलो प्रधानमन्त्रीकालमा भारतीय नाकावन्दीविरुद्ध उनले लिएको अडानका कारण उनलाई धेरैले राष्ट्रवादी नेताका रुपमा चित्रित गर्छन् । पछिल्लो समय ओलीले भारतसँग सम्बन्ध सुधार गरेका छन् ।

प्रधानमन्त्री ओलीले विगतमा परराष्ट्रमन्त्रीको हैसियतले पनि काम गरिसकेको हुनाले उनी छिमेकी देशका नेताहरुसँग अपरिचित र नयाँ अनुहार हैनन् । ओली दक्षिण एशियाका अनुभवी शासक हुन् ।

अहिले नेपाल बिमस्टेकको अध्यक्ष मात्रै होइन, सार्कको अध्यक्ष हो । तर, आफैं अध्यक्ष हुँदा पनि नेपालले सार्कलाई जगाउन सकिराखेको छैन । यो कुरालाई प्रधानमन्त्री ओलीले समेत आत्मसात गरेका छन् ।

त्यसैले यो बिमस्टेक बैठकमा सम्भवतः प्रधानमन्त्री ओलीले भारत, बंगलादेश र भुटानसँग सार्क समिटका विषयामा समेत प्रस्ताव राख्न सक्ने अनुमान लगाउन सकिन्छ ।

सांस्कृतिक विविधतायुक्त जमघट

प्रधानमन्त्री शेख हसिना धार्मिक एवं सांस्कृतिक हिसाबले मुस्लिम समुदायकी हुन् । यही कारणले गर्दा सात देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरुको यो जमघट सुन्दर र बहुआयामिक देखिने भएको छ ।

भारतका प्रधानमन्त्री मोदी हिन्दु धर्मावलम्बी हुन् । भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका सरकार प्रमुख एवं राष्ट्र प्रमुखहरु बौद्ध धर्मावलम्बी हुन् ।

धर्मनिरपेक्ष नेपालका प्रधानमन्त्री केपी ओली कम्युनिस्ट भएता पनि हिन्दु धर्म र संस्कृतिबाट निश्रृत नेता हुन् ।

यो सबै बहुलताका कारणले गर्दा बिमस्टेक बैठकको दृश्य धार्मिक, सामाजिक, सांस्कृतिक तथा लैंगिक दृष्टिले समेत सहिष्णुतापूर्ण हुने देखिन्छ । एशियाको बंगालको खाडी वरिपरिका देशहरुको सभ्यताले बहुलतालाई प्रतिनिधित्व गरेको छ भन्ने यसबाट स्पष्ट हुन्छ ।

पशुपति र लुम्बिनी रहेको नेपाल हिन्दु र वौद्ध दुबै सभ्यताहरुको सन्भी स्थल भएकाले बिमस्टेक बैठकमा आउने पाहुनाहरुलाई राम्रो सत्कार गर्न सके ती देशबाट धार्मिक पर्यटनलाई नेपाल भित्र्याउने अवसरकार रुपमा बिमस्टेक बैठकबाट फाइदा लिन सक्ने सम्भावना छ ।

बैठकका एजेण्डा ‘ग्रीड कनेक्सन’देखि गरीवी निवारणसम्म

बिमस्टेक राष्ट्रहरुबीच बिजुली आदान-प्रदानका लागि अन्तरदेशीय बिजुली प्रसारणलाइनको सञ्जाल निर्माण गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ । बिमस्टेकका ७ राष्ट्रबीच ग्रीड कनेक्टिभिटी (इन्टरकनेक्सन) बारे समझदारी हुने लगभग तय भइसकेको छ ।

यसैवीच बिमस्टेक सदस्य राष्ट्रहरुबीच विद्युत प्रशारण लाइनसम्बन्धी सहमतिका लागि मस्यौदामा प्रारम्भिक सहमति भएको छ । मंगलबार बसेको सचिवस्तरीय समितिले विद्युत प्रशारण लाइनसम्बन्धी सहमतिपत्रको मस्यौदा तयार गरेको हो ।

मंगलबार काठमाडौंमा सम्पन्न विदेश सचिवस्तरीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेपालका परराष्ट्र सचिव शंकरदास बैगागीले विद्युत प्रशारण लाइनसम्बन्धी मस्यौदा तयार भएको जानकारी दिए ।

सचिवस्तरीय बैठकले पारित गरेको मस्यौदालाई बुधबार बस्ने परराष्ट्रमन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि बिमस्टेक शिखर सम्मेलनमा पेश गरिनेछ ।

भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुने शिखर सम्मेलनपछि यो समझदारी कार्यान्यवन भएमा एक देशबाट अर्को देशमा ग्रीडहरु जोडिने छन् । यसबाट क्षेत्रीय स्तरमा विद्युत खरिद-बिक्रीका लागि बाटो खुल्नेछ ।

यसअघि सार्क राष्ट्रहरुबीच पनि यस्तो समझदारी भइसकेको छ । बिमस्टेक तहमा यस्तो समझदारी भएमा नेपालले म्यान्मार हुँदै थाइल्याण्डसम्म पनि विद्युत बेच्नका लागि पहुँच पाउने अवस्था बन्छ । हालसम्म नेपालले विद्युत् आदान-प्रदानका लागि भारत र बंगलादेशसँग मात्रै समझदारी गरेको छ ।

त्यसैगरी मंगलबारको सचिवस्तरीय बैठकमा गरिबी निवारणका १४ वटा विषयमा पनि समीक्षा भएको छ ।

सुरक्षामा कडाइ, दुई दिन विद्यालय बन्द

नेपाल सरकारले बैठकमा आउने विदेशी पाहुनाहरुका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । भीआइपीहरुको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ भने प्रहरी र सशस्त्र प्रहरीहरु पनि ठूलो संख्यामा परिचालन गरिएको छ ।

हिलो र खाल्डाखुल्डी भएका काठमाडौंका मुख्य सडकहरु रातारात पुरिएका छन् । विमानस्थलदेखि कार्यक्रमस्थल सोल्टी होटलसम्म पुग्ने सडकको ठाउँठाउँमा गेट र स्वागत द्वारहरु बनाइएका छन् ।

सरकारले भदौ १४ र १५ गते काठमाडौंका शैक्षिक संस्थाहरुमा दुई दिनका लागि विदा दिएको छ ।

सवारी जामलाई ख्याल गर्दै भदौ १३ र १५ गते बिजोर नम्बरका सवारी साधनमात्रै चलाउन पाइने छ भने भदौ १४ गते काठमाडौंमा जोर नम्बरका सवारी साधनमात्रै चलाउन पाइने व्यवस्था गरिएको छ ।

साभार : अनलाइनखबर

तपाइको प्रतिक्रिया दिनुहोस्।